काठमाडौं- बैसाख ६
आगामी स्थानीय तहकाे निर्वाचनमा पाेखरा महानगरपालिका अन्तत एकीकृत समाजवादीकाे भागमा परेकाे छ ।
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये ३ महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति भएको हो ।
पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने पक्कापक्की भएकाे छ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडाैं आएको टाेलीसँग मेयरकाे प्रसंग नै नउठाइ उपमेयरमा गतिलाे नाम दिन भनेका छन् । देउवाकाे बाेलावटमा गण्डकी सभापति शुक्रराज शर्मा, नेता यज्ञबहादुर थापा र कास्की सभापति किशाेरदत्त बराल मंगलबार बिहान काठमाडाै आएका थिए ।
तिनै जनाले कुनै पनि हालतमा पाेखराकाे मेयर छाड्न नहुने बताइरहँदा देउवा माैन बसेका थिए । अन्तिममा उनले उपमेयरमा राम्राे मान्छेकाे नाम पठाउन भनेपछि उनीहरु आसय बुझेर फर्केका थिए ।







