काठमाडौं- बैसाख ५
सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी तालमेलबारे निर्णय गर्न बसेको ५ दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।
महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमतिनजिक पुगेको दाबी गरेका छन्।
गठबन्धनको बैठक मंगलवार साढे ११ बजे फेरि बस्ने निर्णय भएको कांग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘महानगरपालिका र नगरपालिकामा तालमेलबारे निष्कर्षमा पुग्ने अवस्थामा छौं । भोलिको बैठकमा छलफल गरेर तालमेलबारे टुंगो लगाउँछौं,’ कार्कीले भने ।







