काठमाडौं- बैसाख ५
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताए ।पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं। हामीलाई काठमाडौं भए पनि हुन्छ। अरू कुनै महानगरपालिका भए पनि हुन्छ। बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं।’
महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्नेबताएका हुन्।‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला। एउटा त माओवादीले पाउला,’ उनले भने ।
महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमतिअनुसार नै अगाडि बढ्ने बताए। अहिले पाँचदलीय गठबन्धनको बैठक र कार्यदलको बैठकमा छलफल भइरहेको र आजै वा भोलिसम्ममा टुंगोमा पुगिने बताए।
फरक प्रसंगमा उनले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताए। प्रचण्डले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको आरोप लगाए।
‘हिजो संविधानविरोधी गतिविधि भयो। यसविरुद्ध हामी गठबन्धनआवद्ध दल लड्याै,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन र तालमेलका नाममा गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजिएको छ। विचार र सिद्धान्त नै फरक भएका दल, धर्मनिरपेक्षताको एजेन्डा बोकेका दल र हिजो संविधानविरोधी गतिविधि गरेकाबीच गठबन्धन र तालमेल भएकाे छ।’
उनले स्थानीय तहको निर्वाचन निर्धारित मिति ३० वैशाखमै हुने जानकारी दिए। निर्वाचन सर्ने हल्ला फैलाइएको भन्दै उनले कुनैै पनि हालतमा निर्वाचन नसर्ने बताए। सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा सहमतिमा उम्मेदवार उठाउने जानकारी दिँदै प्रचण्डले सोमबार नै बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए।
भागबन्डाका विषयमा आजनै सहमति हुने जानकारी दिए। सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ। सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ उपहानगरमा भागबन्डामा सहमति जुटाउने प्रचण्डले जानकारी दिए।







