दमाैली – बैसाख ४
वैशाख ३० मा हुने स्थानीय चुनावमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन्।
उनले सबै पालिकाका प्रमुख, उपप्रमुखलगायत पदहरूमा साझा उम्मेदवारी दिने सहमति एमालेसँग भएको दाबी गरे।कांग्रेसका पूर्व नेता गोविन्दराजलाई पार्टीले कारबाही गरेको थियो। उनलाई ५ वर्षका लागि कांग्रेसले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो।०७४ मा तनहुँमा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि अनुशासनको कारबाही गरिएको थियो।
‘हिजोको बैठकबाट चुनावी तालमेलको सहमति भएको छ, व्यासमा मलाइ सघाउने र भानु नगरपालिकामा एमालेको मेयरलाई सघाउने सहमति भएको छ,’ मेयरका प्रत्यासी जोशीले भने ।
पेशाले सफ्टवेयर इन्जिनियर जोशी झण्डै डेढ दशक अमेरिकामा बसेर नेपाल फर्किएका हुन् । चुनावको मिति घोषणा भएलगत्तै जोशीले व्यासको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । ‘यहाँका स्थानीयहरूले काम गर्ने मेयर खोज्नु भएको छ, मेरो उम्मेदवारी घोषणाले यहाँका मतदाता उत्साही भएको पाएँ,’ तनहुँमा रहेका जोशीले भने । नेपाली कांग्रेसले आफूहरूलाई सौतेलो व्यवहार गरेकोले एमालेसँग तालमेलको निर्णय गरिएको नेता जोशीले भने ।







