काठमाडौं-वैशाख २
रुकुममा पनि कांग्रेसले सम्मानजनक संख्यामा पद पाउने
नेपाली कांग्रेसले चुनावीसभा सञ्चालनको मापदण्ड बनाएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि आयोजना गरिने सभा सञ्चालहरूका लागि मापदण्ड तय गरेको हो ।
बैठकको निर्णयअनुसार पालिका स्तरमा बढीमा दुई घण्टामात्र चुनावी सभा गर्न पाइने भएको छ । यस्तै, वडा र टोल स्तरमा बढीमा एक घण्टामात्र चुनावी सभा गर्न समितिले तल्ला तहलाई निर्देशन दिएको छ ।
यस्तै बैठकले आसनग्रहणको मापदण्ड पनि तय गरेको छ । जसअनुसार गठबन्धन भएको ठाउँमा गठबन्धनमा रहेका दलका एक/एक जनालाई आसनग्रहण अनिवार्य गरिएको छ । यस्तै, सभापति, प्रमुख अतिथि वा प्रमुख वक्ता, पदीय मर्यादा बमोजिम पार्टीका नेताहरूलाई सामूहिक र उमेदवारहरूलाई आसनग्रहण गराउन निर्देशन दिएको छ । कांग्रेसले चुनावी सभालाई व्यवस्थित र छोटो छरितो बनाउन यस्तो निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उपसभापति पूर्णबहादुर खड्काले चुनावी तालमेल सहज विषय नभएको बताएका छन् । उनले तालमेल गर्न निकै चुनौतीपूर्ण भएको भन्दै पार्टीले तालमेल गर्ने निर्णय गरिसकेपछि मान्नुको विकल्प नभएको बताए ।
कांग्रेसको चुनावी कमान्डर खड्काको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिए । कार्यकर्ता तहमा तालमेलको विपक्षमा मत भए पनि पार्टीको निर्णय महत्त्वपूर्ण भएको बताएका थिए ।
“गठबन्धनका लागि पार्टीले गरेको निर्णय अनुशासनको घेरामा पर्दछ । निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सभापतिदेखि सबै निकायका साथीहरूका सवालमा पनि लागु हुन्छ,” खड्काले बैठकमा भनेका थिए, “गठबन्धन बचेन भने केन्द्रीय सरकार पनि बच्दैन । माधव नेपाललगायत पार्टीलाई सडकमा छाड्नु कांग्रेसको नैतिकतामा पर्दैन ।”







