काठमाडौं-वैशाख २
चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलिनियम (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार सो दिनको बैठकले ७ वटा मुख्य निर्णय गरेको छ ।
यी हुन् निर्णय–
१) विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत सहायता ऋण सहायता स्वीकार गर्ने ।
२) संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलिनियम (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार गर्ने ।
३) फुट कोट कर्णाली अर्ध–जलशाययुक्त जलविद्युत आयोजनाका लागि कालिकोट जिल्लाको सन्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।
४) सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने ।
५) मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल गाउँपालिकाको प्रशासकीय भवनलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृत दिने ।
६) कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने ।
७) राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष राम आधार कापरको राजीनामा स्वीकृत गर्ने ।







