काठमाडौं। बैसाख २- सत्तारूढ दल नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकाका लागि नगरप्रमुख पदमा सातजनाको नाम सिफारिस भएको छ ।
पार्टीको नगर कार्यसमितिले सातजनाको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरेको नगरसभापति शुभानन धाख्वाले जानकारी दिए । “प्रदेश समितिलाई हामीले पठाइसकेका छौँ । प्रदेशले पनि ‘सर्ट लिस्ट’ गरिसक्यो भन्ने सुनिएको छ,” उनले भने ।
धाख्खाका अनुसार नगरसमितिले उनीसहित, वर्तमान नगरप्रमुख चिरिबाबु महर्जन, नगर उपप्रमुख गीता सत्यालको नाम सिफारिस गरिएको छ । यस्तै भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, अनन्त प्रकाश श्रेष्ठ छन् ।
समितिले उपप्रमुखतर्फ पनि सातजनाको नाम सिफारिस गरेको छ । तर, सार्वजनिक भने गरिएको छैन । “मैले पाँच वर्ष उपप्रमुख भएर कार्यसम्पादन गरिसकेकी छु । म स्वभाविक नगर प्रमुखको दाबेदार हुँ,” उपप्रमुख गीता सत्यालले भनिन्, “सबैले आकांक्षा राख्नु स्वभाविक हो । प्रमुखमा दाबेदार गरेर उपप्रमुखमा दोहोर्याउने सम्भावना कमै छ ।”
स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ । कांग्रेसले भने सत्ता गठबन्धनसँग चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेको छ । उपमहानगर र महानगरपालिकाको गठबन्धनको निर्णय सत्ता गठबन्धनले गर्ने भनिएको छ । ललितपुरमा कांग्रेसले महानगरको नेतृत्व पाउँछ पाउँदैन भन्ने प्रश्न पनि छ ।







