नयाँ वर्ष २०७९को अवसरमा पाठकवर्ग बिज्ञापनदाता तथा शुभ चिन्तकहरुमा स्मार्ट अक्षर हार्दिक शुभकामना ब्यक्त गर्दछ।
आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् ।
“विक्रम ६० सम्वतसरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य सम्वत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम सम्वत् चल्दछ, शक सम्वतका विशेषतादेखि इश्वी सम्वतका व्यवहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो सम्वतकाे पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ ।सौरमान र चान्द्रमानको समन्वय पनि यो सम्वतमा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम सम्वत् सुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ सम्वतसर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ ।
चैत १९ गतेदेखि नल नामको सम्वतसर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।वैदिक सनातन हिन्दू धर्मअनुसार ६० सम्वतसर छन् । यी सम्वतसर आदि अनादिकालदेखि घुम्दै आएका छन् ।षष्टि सम्वतसरमध्येको पहिलोको नाम प्रभव हो ।अहिले चलिरहेको नल ५० औँ सम्वतसर हो । प्रत्येक संवतसरको बेग्लाबेग्लै फल हुने ‘षष्टि सम्वतसर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताए । (रासस)







