काठमाडौं,चैत्र ३०
नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।
भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताउनुभयाे ।सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गर्नुभएकाे छ । तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो ।भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिनुभएकाे थियाे ।
‘कुरा नै भएको छैन । छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’उहाँले पोखरामा एक्लै चुनाव जित्ने आधार खोज्नुभएकाे थियाे ।
‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ ? पहिले एक्लै चुनाव लडेको होइन ? के हालत भयो ?,’ देउवाले भन्नुभयाे, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेद्वार ? सहमतिबाट टुंग्याउन सक्नुहुन्छ ?’पाेखरामा एकीकृत समाजवादीले मेयरको टिकट पाउने चर्चा चलेको छ ।त्यसमा कुनै सत्यता नरहेकाे देउवाले बताउनु भएकाे थियाे ।







