स्मार्ट अक्षर संम्वाददाता ।
काठमाडौं,चैत्र २९-निर्वाचित जनप्रतिनिधिले फेरि उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवारी दिए पदबाट राजीनामा दिनुपर्ने आचारसंहिता कायम गराउन आयोगले यस्तो रिट दर्ता गराएको हो । निर्वाचन आयोगको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो ।
निर्वाचन आयोगले यसअघि निर्वाचित जनप्रतिनिधिले फेरि उम्मेदवार बन्न चाहेमा पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेर आचारसंहिता ल्याएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले त्यसविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटबारे सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ । निर्वाचन आयोगले हालेको रिट र शेर्पाको रिटलाई एकै ठाउँमा राखेर सर्वोच्चले सुनुवाइ गर्न लागेको हो ।
शेर्पाको मुद्दामा सर्वोच्चले चैत ८ गते प्रारम्भिक सुनुवाइ गर्दै तत्काल राजीनामाको व्यवस्था कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । दुवै रिटलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा राखेर सुनुवाइ गर्न लागिएको छ ।







