काठमाडौं,चैत्र २९, स्मार्ट अक्षर संम्वाददाताः
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ।
मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरण प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पुर्याउन राजदूत पार्कसँग आग्रह गरे। राजदूत पार्कले ईपीएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए।
मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकोले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका थिए। रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उहाँले आग्रह गर्नुभयो। दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ। ईपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरू रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन्। ईपीएस अन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताए।
सन् २०१८ मा ईपीएस अन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकोले प्रक्रियामा सहभागि हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागी गराउन आग्रह गरे। मन्त्री श्रेष्ठले रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरूका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभयो।
रोजगार अनुमति प्रणाली अन्तर्गत नेपाली नागरिक ठुलो संख्यामा दक्षिण कोरिया जाने गरेकोले नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमलाई पनि कोरियामा सुचिकृत गर्न, कोभिड महामारीका कारण सिधा उडान मात्र हुने गरेकोले ट्रान्जिट हुँदै समेत जाने व्यवस्था गर्न पनि उहाँले आग्रह गर्नुभयो। जसबाट हवाइ भाडा सस्तो पर्ने मन्त्री श्रेष्ठको भनाइ छ। नेपाल वायु सेवा निगमले पनि काठमाडौं कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको थियो।
सो अवसरमा मन्त्री श्रेष्ठले दक्षिण कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदुतसँग चासो राख्नुभएको थियो। मन्त्री श्रेष्ठले अहिले वैदेशिक रोजगार व्यवस्थापनको कार्यक्षेत्र संघीय सरकारमा मात्र निहित रहेकोले मौसमी कामदारको रुपमा रोजगारी दिन स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजिएको बिषयमा नीतिगत स्पष्टता कायम गर्दै अघि बढ्न नेपाल सरकार तयार रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले नेपाल सरकारको नीति अनुसार मौसमी कामदारको रुपमा जाने व्यक्तिहरू एम्प्लोई पे पोलिसी अवलम्वन हुने गरी दक्षिण कोरिया जाउन् भन्ने अपेक्षा गरिएको बताउनुभयो।
दक्षिण कोरिया सरकारको सहयोगमा वुटललमा संचालित सीप तालिम केन्द्रबाट धेरै नेपाली युवाहरू लाभान्वित भएको बताउनुहुँदै मन्त्री श्रेष्ठले अन्य प्रदेशमा पनि सीप विकास तालिम संचालन गर्ने मन्त्रालयको योजनामा सहयोग गर्न आग्रह गर्नुभएको थियो। रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुनसहजीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो। पुनस्एकीकरणका लागि दक्षिण कोरिया सरकारले ८० लाख डलर सहयोगको प्रस्ताव गरेको छ। कोरियामा ६५ हजारभन्दा बढी नेपाली ईपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन्। नेपालीहरू मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताउनुभएको थियो।







