भक्तपुर। ङातापोल (पाँचतले) मन्दिरको आँगनमा भैल खः (भैरवको रथ) तान्दै भक्तपुरको बिस्का जात्रा शुरू भएको छ। बिस्का जात्राको पहिलो दिन प्यागोडा शैलीमा काठैकाठले निर्माण गरिएको तीनतले भैरवनाथको रथ तान्ने परम्परा छ।
आज आइतबार भक्तपुरको तःमारी (टौमढी)स्थित स्थानीयले सवा चार बजेदेखि रथ तान्न शुरू गरेका थिए। परम्परा अनुसार भैल खः तान्न भद्रकालीको रथलाई घट्खामा पठाई रथमा बिराजमान गरी पूजा सम्पन्न गरिन्छ। बिस्का जात्राको लागि स्थानीयले विशेष विधिबाट तयार गरेको रथमा तान्त्रिक विधिपूर्वकपूजा गर्दै भैरवनाथको मूल देवता र बेताल देवतालाई रथमा बिराजमान गराइन्छ। भैरवनाथ र बेताल देउताको खड्ग, तरवार, निशानलाई पनि रथमा राखिन्छ।
त्यसपछि भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई राखिन्छ। त्यसपछि गः हिटीबाट माथिल्लो र तल्लो भेगका बासिन्दाले रथ तान्न शुरु गर्छन्।
भैरवनाथको रथ तानेर तल्लो भेग (क्वः ने) टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशं गोपाल, तेखापुखुसम्म पुर्याइन्छ भने माथिल्लो भेग (थःने) क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयसम्म रथ तानेर पुनः तौमढी पुर्याई जात्रा सम्पन्न गर्ने परम्परा छ।
जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत स्थानीयहरु हुन्छन्।
प्राडा पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको छ। भक्तपुरको भेलुखेलमा चैत मसान्तको दिन उभ्याइने यःसिं (लिंगो)मा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकाली हुन्।
कोभिड–१९ को संक्रमणको जोखिमका कारण २०७६ मा रथारोहण भएको थिएन। अघिल्लो वर्ष भने कोभिड महामारीकैबीच स्वास्थ्य मापदण्ड पालना गरी रथ तानिएको थियो।







