नेकपा एकीकृत समाजवादीले एक हजार १११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
शनिवार र आइतवार बसेको उक्त पार्टीको केन्द्रीय सचिवालय बैठकले मूल निर्वाचन परिचालन कमिटी गठन गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, जनसंगठनका केन्द्रीय पदाधिकारीहरूसमेत रहेको मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको भुसालले जानकारी दिए ।
त्यसैगरी, पार्टी महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि एकीकृत समाजवादीले गठन गरेको छ ।
त्यसैगरी, एकीकृत समाजवादीले आगामी स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोटका लागि विभिन्न मापदण्ड तय गरेको छ । जसमध्ये, पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तय गरेको छ ।
त्यसै गरी, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिएर उम्मेदवार चयन गर्नुपर्ने मापदण्ड तय गरेको छ ।







