स्मार्ट अक्षर संम्वाददाता ।
काठमाडौं,चैत्र २५- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावविरुद्धको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ। रिट दर्ता गरेको झन्डै डेढ महिनापछि उक्त मुद्दाको सुनुवाइका लागि पालो आएको हो।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको हो।
गत फागुन १ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध प्रतिनिधि सभामा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्ताव दर्ता भएपछि संघीय संसद सचिवालयले सूचनासमेत प्रकाशित गरेको थियो।
महाभियोग प्रस्ताव दर्ता भएकै दिनदेखि राणा निलम्बनमा छन्। उनको ठाउँमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको नेतृत्व गरिरहेका छन्। सोही महाभियोगको प्रस्ताव बदर गराई पाउँ भन्दै सर्वोच्च अदालतमा २ वटा छुट्टाछुट्टै रिट दर्ता भएको थियो।







