बर्दिया,चैत्र २४,
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन दलहरु प्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन् ।
बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा बिहीबार आयोजित नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन् । अध्यक्ष ओालीले आफू सरकारमा रहेका बेला मुक्त कमैया भूमिहिन सुकुम्बासीहरुको समस्या अन्त्य गर्नका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर भूमिहिनलाई भूमिको मालिक बनाउन थालेकै बेला परमादेशका कारण सरकार छोड्नु परेको बताए ।
नेकपा एमाले सरकारमा रहँदा घर नभएकाहरुलाई जनता आवासका नाममा हजारौं घर निर्माण, हुलाकी राजमार्ग र पूर्व पश्चिम राजमार्ग निर्माण, राष्ट्रिय गौरवका आयोजना, प्रत्येक पालिका जोाड्ने सडक, अस्पताल निर्माणका लागि बजेट प्रयाप्त पुग्ने भन्दै अहिले त्यो बजेट कहाँ गएको छ भन्दै अध्यक्ष ओलीले प्रश्न समेत गरे ।
बिहिबार सम्पन्न भएको कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख एवं काँग्रेस निकट नेपाल महिला संघकी केन्द्रिय सदस्य शुसिला गिरी, गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरजकुमार शर्मा, जसपाका लुम्बिनी प्रदेश सदस्य बालकृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । यसै गरी जिल्लाका विभिन्न पालिकामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा समाजवादी लगायत विभिन्न पार्टीबाट २ हजार ५ सय बढी ब्यक्तिहरु नेकपा एमाले पार्टीमा प्रवेश गरेको नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए । पार्टी प्रवेश गरेका सबैलाई अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका थिए ।







