श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे विभिन्न प्रस्ताव गरेका छन्।
अर्थ मन्त्रालयमा सरोकारवाला निकायबीच बिहीबार भएको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए। उनले नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ।
श्रेष्ठले वैदेशिक रोजगारीङ्गा गएका श्रमिकहरूले राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने, विदेशबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने, विदेशका प्रमुख सहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने प्रस्ताव गरे।
‘विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्छ,’ श्रेष्ठको प्रस्तावमा भनिएको छ, ‘औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने।’
औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुन: श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने प्रस्ताव मन्त्री श्रेष्ठको छ।
‘औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेहरूलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरूमा ५० प्रतिशत सहुलियत दिनुपर्छ,’ श्रेष्ठको प्रस्तावमा उल्लेख छ,‘नेपाल फर्केर उद्यम गर्नेहरूलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि बिना ब्याज उपलब्ध गराउनुपर्छ।’
यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने, सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने, वैदेशिक रोजगारीमा जाने विद्यमान प्रक्रियालाई सहज र सरल बनाउने मन्त्री श्रेष्ठको प्रस्ताव छ।







