काठमाडौं। चैत्र २४, स्मार्ट अक्षर संम्वाददाताः
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आचारसंहितामा आफ्नो छ बुँदे असहमति राखेको छ। महासचिव शंकर पोखरेल नेतृत्वमा बिहीबार निर्वाचन आयोग पुगेर एमालेले लिखित रुपमा आफ्ना असहमति राखेको हो। एमालेले संविधान र कानुनसँग बाझिएका बाहेक आचारसंहिता पालनामा आफूहरु प्रतिवद्ध रहेको उल्लेख गरेको छ।
‘त्यसैले यस प्रकृतिका संविधान तथा कानुन विपरीतको सबै प्रावधान सच्याउन र त्यस्ता प्रावधान लागु हुने गरी सूचना प्रकाशित नगर्न हाम्रो पार्टी आयोग समक्ष आग्रह गर्दछ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
दफा ३६ मा कुनै स्थानीय तहमा उम्मेदवार हुने जनप्रतिनिधिले पदबाट राजीनामा गर्नुपर्ने व्यवस्था स्थानीय तह खाली हुन हुँदै भन्ने आयोगकै पूर्वमान्यता विपरीत रहेको एमालेले उल्लेख गरेको छ।
कुनै पनि तहको कार्यपालिकाको सदस्य, मन्त्री तथा प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रबाहेक कुनै दलको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था पनि अनुपयुक्त भएको एमालेको जिकिर छ।
आचारसंहिताको अनुसूची ३ को (८) मा भएको मतदान अधिकृतले गरेको निर्णय तथा निर्वाचित अधिकृतले मत सदर वा बदर गरेको निर्णयमा विवाद गर्ने छैन भनिएको व्यवस्थाले निर्वाचनमा हुनसक्ने धाँदलीविरुद्धमा अदालतमार्फत प्राप्त हुनसक्ने अधिकारमाथि अंकुश लगाउन खोजेको देखिएको एमालेको ठहर छ।










