काठमाडौं,चैत्र २३,
केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।‘मोडर्ना र फाइजर खोप बढी चिसो राख्नुपर्छ । त्यहाँबाट निकालिसकेको ३० दिनभित्रमा प्रयोग गरिसक्नुपर्छ । ३० दिनभित्रमा प्रयोग गर्न नसकिँदा खेर गइरहेको छ,’ प्रमुख दाहालले भने ।
मोडर्ना खोप माइनस २५ डिग्रीको तापक्रममा राख्नुपर्छ । त्यहाँबाट निकालेर २ देखि ८ डिग्रीको खोप भण्डारण बक्समा राख्नुपर्छ । जुन एक महिनाभित्रमा लगाइसक्नुपर्ने हुन्छ । त्यो अवधिमा खोप लगाउन नसकिएको खण्डमा स्वतः खेर जाने प्रमुख दाहालको भनाइ छ ।
कति मात्रामा खोप खेर गयो भन्ने तथ्यांक न स्वास्थ्य सेवा विभागमा छ न त सम्बन्धित जिल्लाको खोप शाखामा । विभागले खेर गएको खोपको पनि विवरण जिल्लासँग माग गरेको छ ।
नेपालमा १२ देखि १८ वर्षसम्मका बालबालिकालाई मोडर्ना यो खोप लगाइएको थियो । हालसम्म नेपालमा ३७ लाख डोज मोडर्ना खोप आइसकेको छ
अहिलेसम्म मोडर्नाको १० हजारभन्दा बढी डोज लगाउन नपाउँदै खेर गइसकेको छ । तर, स्वास्थ्य अधिकारीहरूलाई यति मात्रामा खोप खेर गएको दाबी स्वीकार गर्दैनन् ।
काठमाडौं उपत्यकासहित विभिन्न प्रदेश तथा जिल्लाबाट यसरी खोप खेर गइरहेको विवरण विभागमा आउने गरेको छ । खोप लगाउने मानिसको संख्यामा कमि आउँदा खोप खेर जाने क्रम जारी छ ।
खोप खेर जान नदिनको लागि विभागले लेवल नै टाँसेर पठाउने गरेको छ । यसअघि पनि मिति सकिनै लागेको अस्ट्राजेनिका खोप लगाइएको थियो । भुटान र जापान सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख ३० हजार डोज अस्ट्राजेनिका खोप मिति सकिने लागेको अवस्थामा नेपाल ल्याइएको थियो । जसमा जापानले १६ लाख र भुटानले दुई लाख ३० हजार डोज अस्ट्राजेनिका खोप उपलब्ध गराएको थियो ।
उक्त खोप यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका १३ लाख ६८ हजार जनालाई लगाएको थियो भने बाँकी रहेको खोप १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी, यसअघि खोप लगाउन छुटेकाहरू लगायतलाई लगाइएको थियो ।
भुटानबाट आएको खोप म्याद सकिन तीन सातामात्र बाँकी थियो भने जापानबाट आएका खोप दुई महिनापछि । मिति सकिन लागेपछि सरकारले एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको थियो ।
सामान्यतया खोपको प्रयोग मिति सकिनुभन्दा जति समय बढी हुन्छ त्यति राम्रो हुन्छ । तर, मिति सकिनुभन्दा एक दिन अगाडिसम्म पनि खोप लगाउन सकिने विज्ञहरूको भनाइ छ ।
सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । तर, त्यो लक्ष्य भेट्टाउन मुस्किल छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै लक्षित समूहलाई चैत मसान्तभित्रमा खोप लगाइसक्ने थियो ।
एक करोड ९९ लाख २२ हजारभन्दा बढी जनसंख्यालाई खोप लगाउने लक्ष्य सरकारको छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् ।







