काठमाडौं। चैत्र २३, स्मार्ट अक्षर संम्वाददाताः
नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा १० करोड डलरले बढेको छ । प्रतिष्ठित फोर्ब्स म्यागाजिनका अनुसार चौधरीको समग्र सम्पत्ति १ अर्ब ५० करोड डलर पुगेको छ । उनी यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा १९२९ औं स्थानमा रहेका छन् ।
गत वर्ष विश्वका अर्बपतिहरुको सूचीमा उनी २१४१ औं स्थानमा थिए । गत वर्ष उनको सम्पत्ति पनि स्थिर देखिएको थियो । फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति सन् २०१९ मा सबैभन्दा धेरै १ अर्ब ७० करोड डलर पुगेको थियो । तर, सन् २०२० मा १ अर्ब ४० करोड डलरमा झरेको थियो ।
फोर्ब्सका अनुसार यस वर्ष टेस्ला कम्पनीका सीईओ एलन मस्क अर्बपतिको सूचीमा पहिलो स्थानमा छन् । उनीसँग २ खर्ब १९ अर्ब डलरको सम्पत्ति छ । त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस छन् । बेजोसको १ खर्ब ७१ अर्ब डलरको सम्पत्ति छ । यस वर्ष अर्बपतिको सूचीमा २६६८ जना अटाएका छन् ।
यस्तै उक्त सूचीअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५ सय ३९अर्बपति छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेको छ ।
२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् । यस्तै दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी ‘टप टेन’को सूचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।







