काठमाडौं,चैत्र २३, स्मार्ट अक्षर संम्वाददाताः
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवार बनाउने दलले महिला उठाउनुपर्ने निर्देशन फिर्ता लिएको छ। आयोगले १६ चैतमा जारी गरेको निर्देशन एक सातापछि फिर्ता लिएको हो।
मंगलबार दलहरूको बैठकमा सहभागी एमाले नेता रमेश बडालले उक्त निर्देशन फिर्ता लिइसकेको जानकारी आयोगले गराएको बताए।
आयोगको १६ चैतमा निकालिएको विज्ञप्तिको निर्देशनको ६ नम्बर बुँदामा भनिएको थियो, ‘‘स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’’
गठबन्धनले संयन्त्र बनाइएर उम्मेदवारी छनोट, दलगत भागबन्डालगायतको काम गरिरहँदा आयोगको यस्तो निर्देशन आएको थियो। यसअघिको स्थानीय तहमा भएको दुई दलीय गठबन्धनमा धेरै महिला उम्मेदवार हुनबाट वञ्चित भएका थिए।
स्थानीय तह निर्वाचन ऐनको दफा १७ को उपदफा ४ मा दलहरूले उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था छ। तर, दलहरूले गठबन्धन गर्दा एक पदमा मात्र उम्मेदवारी दिने र अर्को पद अर्को दललाई दिँदा पुरुषकै भागमा पर्ने सम्भावना अब बढेको छ।







