काठमाडौं,चैत्र २२, स्मार्ट अक्षर संम्वाददाताः
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएकोमा आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने भएको हो ।
आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइसकेको छ । आयोगका अनुसार १ करोड ९४ लाख मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ । काठमाडौंको मतपत्र १७ चैतपछि छपाइ हुनेछ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्नेमा धमाधम छपाइ सुरु गरिएको जानकारी दिए ।
‘मतपत्र छपाइको काम सुरु भएको छ, स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र चाहिन्छ, अहिले जनक शिक्षामार्फत दैनिक साढे ६ देखि ७ लाख मतपत्र छपाइ भइरहेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ वटै जिल्लामा ७७ वटै प्रकारका मतपत्र छपाइ गर्नेछ । देशभरका स्थानीय तहमा प्रयोग हुने मतपत्रमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको चुनाव चिह्न रहनेछन् । अन्य चिह्न भने जिल्लामा रहेका दल र स्वतन्त्र उम्मेदवारका हुनेछन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ हुने जानकारी दिए । उनका अनुसार सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सबैभन्दा बढी ५६ लहरका मतपत्र काठमाडौैंका लागि छापिनेछ ।
‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ, सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौंैको मतपत्र हुनेछ ।’ आयोगका प्रवक्ता पौडेलले पत्रकारसम्मेलनमा भने ।
आयोगले दुर्गम हिमाली जिल्लाका लागि आवश्यक पर्ने मतपत्र पहिले छपाइ गरेर पठाउने नीति बनाएको छ । मतपत्र ढुवानीका लागि समस्या हुने भएकाले दुर्गम र सुगम जिल्ला छुट्याएर आयोगले मतपत्र छपाइ गर्नेछ ।
आयोगले जिल्लामा मतपत्र पठाउँदासमेत मतदाताको संख्याका आधारमा ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र पठाउने तयारी गरेको छ । प्रवक्ता पौडेलका अनुसार दुर्गम जिल्लामा बढी जगेडा र सुगम जिल्लामा कम जगेडा मतपत्र पठाइने बताएका हुन् ।
‘दुर्गम जिल्लामा जगेडा बढी पठाइन्छ, सुगम जिल्लामा कम जगेडा पठाइन्छ, तत्काल मतपत्र अपुग हुँदा ढुवानीमा समस्या नहोस् भनेर यस्तो रणनीति बनाइएको हो,’ आयोगका प्रवक्ता पौडेलले भने ।
आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ स्वीकृत भई कार्यान्वयनमा आएको समेत भनेको छ । स्थानीय तह निर्वाचन २०७९ मा ६ राष्ट्रिय दलसहित ७९ दल सहभागी हुँदै छन् ।







