काठमाडौं,चैत्र २१, स्मार्ट अक्षर संम्वाददाताः
ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत लोकार्पण गरिएको छ ।
आज काष्ठमण्डप परिसरमा आयोजित एक समारोह माझ राष्ट्रपति भण्डारीले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यबाट काष्ठमण्डपको साँचो ग्रहण गर्नुभयो । त्यसपछि उहाँले साँचो प्रदर्शन र ताम्रलेख अनावरण गर्दै काष्ठमण्डपको लोकार्पण गर्नुभयो । यससँगै अब काष्ठमण्डप सर्वसाधारणको अवलोकनका लागि खुल्ला भएको छ ।
वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण निर्माण सम्पन्न भएकोमा राष्ट्रपति मण्डारीले खुसी व्यक्त गर्नुभयो । साथै उहाँले पुनःनिर्माण एवं जीर्णोद्धार कार्यमा संलग्न महानगर र सम्पदाकर्मी तथा कालीगढ, कामदारहरु सबैको प्रशंसा समेत गनुभयो ।
उहाँले काष्ठमण्डपजस्ता सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । अब यस्ता सम्पदाको संरक्षण गर्नु सबैको दायित्व हुने समेत बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले काष्ठमण्डप पुनःनिर्माण कार्यमा संलग्न तथा सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान समेत प्रदान गर्नुभयो ।
काष्ठमण्डप पुनःनिर्माणमा काठमाडौँ महानगरपालिकाले ३० करोड ५० लाख लगानी गरेको जनाइएको छ । यो पुनःनिर्माण कार्य सक्न ३ वर्ष ८ महिना लागेको हो ।







