काठमाडौं,चैत्र २१, स्मार्ट अक्षर संम्वाददाताः
नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेपाल सुशासन पार्टीका संयोजक रमेश खरेलले काठमाडौं महानगरपालिको मेयरमा चुनावमा उमेदवारी दिने बताएका छन् ।
पार्टीले निर्णय गरे आफू मैदानमा उत्रिन तयार रहेको उनले बताए । हामीसँगको कुराकानीमा खरेलले आफूलाई पनि मेयर पदमा उमेदवारी दिने इच्छा रहेको बताए ।
खरेल पछिल्लो समय देशका विभिन्न क्षेत्र पुगिरहेका छन् । आफूलाई भष्ट्राचार विरोधी अभियान्ताका रुपमा चिनाउन रुचाउने खरेलले पछिल्लो समय पार्टी निर्माण गरेका थिए ।आफूलाई प्रहरीको आईजीपी नबनाइएपछि उनले डीआईजी पदबाट राजीनामा दिएका थिए ।
खरेलले भने, “मैले मेयरको कार्ड फालेको हुँ । सबै पक्षको प्रतिक्रिया लिइरहेको छु ।मुख्य भित्री क्षेत्रका जनताको चाहना पनि बुझ्ने कोसिस गरिरहेको छु । पार्टीले पनि निर्णय गरेमा म उमेदवारी दिन्छु ।”
उनले दुई/चार दिनमै उमेदवारी दिने अथवा नदिनेबारे टुङ्गो लाग्ने बताए । पार्टीको निर्णयपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए ।
खरेल काठमाडौंको सिफलमा बस्दै आएका छन् । हालसम्म काठमाडौं महानगरको मेयरमा कुनै पनि पार्टीले औपचारिक रुपमा उमेदवार घोषणा गरेका छैनन् । हालका मेयर विद्यासुन्दर शाक्यले भने पुनः मेयरमा दोहोरिने इच्छा देखाएका छन् ।







