काठमाडौं,चैत्र १९, स्मार्ट अक्षर संम्वाददाताः
नोबेल शिक्षण अस्पतालका एक चिकित्सक शनिबार बिहान मृत अवस्थामा भेटिएका छन्। सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित खुरहुरिया घर भई विराटनगर महानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २७ वर्षीय डाक्टर विजय यादव मृत फेला परेका हुन्। उनी डेरा गरी बसेको घरको कम्पाउण्डको मुख्य गेटभित्र मृत भेटिएका मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले स्मार्ट अक्षरलाई बताए । यादवको शव नजिक महिलाको जुत्ता र एउटा लाइटर फेला परेको प्रहरीले जनाएको छ।
मृतक प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर बस्दै आएका थिए। शव भेटिएको स्थानदेखि करिब २ सय मिटर पश्चिममा रहेको नहर, अस्पतालको गेटलगायतका स्थानमा रगत देखिएको छ। रगत देखिएको ठाउँमा औषधि पसल २४ सै घण्टा खुला रहने र भीडभाड हुने स्थान हो।
नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार ४ वर्षदेखि यादव हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा काम गर्दै आएका थिए। एमबिबिएस अध्ययन पूरा गरेका यादव ४ वर्षदेखि विराटनगर–४ स्थित एक घरमा डेरा लिएर अस्पतालमा काम गर्दै आएका थिए। ‘राम्रा, अनुभवी र दक्ष चिकित्सक गुमाउनु पर्यो,’ प्रवन्धक दाहालले भने, ‘डाक्टर यादवको मृत्युको खबरले हामी पनि आश्चर्यमा परिरहेका छौँ। प्रहरीले राम्रोसँग घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याइ दियोस्।’
चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ। संघीय प्रहरी इकाई कार्यालय धरानबाट ल्याएको तालिम प्राप्त कुकरबाट समेत घटनाको अनुसन्धान भएको र शवको पोस्टमार्टम विराटनगरस्थित कोसी अस्पतालमा भएको छ।







