काठमाडौं,चैत्र १९, स्मार्ट अक्षर संम्वाददाताः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका प्रधानमन्त्रीको आजको भेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत मिल्ने दाबी गरे
संयुक्त पत्रकार सम्मेलनपछि उनले सामाजिक सञ्जालमा नेपाली भाषामा स्टाट्स लेखेर नेपाली जनताको मन जित्न चाहे। उनले भारतले रेल सेवा सञ्चालन, रुपे कार्डको उपलब्धता, सोलु करिडोर आयोजना र स्वास्थ्य क्षेत्रमा गरिएको संयुक्त प्रयासबाट आफू प्रभावित भएको उल्लेख गरेका छन्।
‘जयनगर र कुर्थाबीचको यात्रुबाहक रेल सेवा नेपाल र भारतबीचको पहिलो ब्रोडगेज यात्रु रेल लिंक हुनेछ। यसले हाम्रा जनताहरूलाई अझ नजिक ल्याउन ठूलो भूमिका खेल्ने छ,’ उनले नेपाली भाषामै स्टाट्स लेखेका छन्।
उनले सोलु करिडोर आयोजनाले नेपालको विकासमा, विशेषगरी ग्रामीण क्षेत्रमा योगदान पुर्याउने दाबी गरे। त्यतिमात्र होइन, नेपालमा रुपे कार्डको उपलब्धता वित्तीय जडानतर्फ अर्को ठूलो कदम भएको र यसले डिजिटल भुक्तानीलाई बढावा दिने उनले बताए।
‘म खुसी छु कि भारत र नेपालले स्वास्थ्य क्षेत्रमा मिलेर काम गरिरहेका छन् र नेपालमा स्वास्थ्य पूर्वाधार विस्तार गरिरहेका छन्,’ उनले ट्वीटरमा लेखेका छन्।







