राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज परम्परागत घोडेजात्रा समारोह आयोजना भइरहरेकाे छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति छन्। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ। अाजकाे समाराेहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य हुन्थ्यो। तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन्।
समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता भइरहेका छन् । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड प्रतियोगिता रहेकाे नेपाली सेनाले जनाएको छ।
उपराष्ट्रपतिलगायत विशिष्ट महानुभाव टुँडिखेल गइ सेनाले त्यहाँ आयोजना गर्ने अश्वकलाका प्रदर्शनी अवलोकन गर्नेछन्। विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ। गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोचअनुरूप घोडेजात्रा आयोजना गरिँदै आएको भनिएको छ।
घोडा र मानिसको सम्बन्ध मानव सभ्यताको इतिहासदेखि नै छ। दैनिक जीवनमा सहयोगीका रूपमा मात्र नभई प्राचीन तथा मध्ययुगीन ठूला लडाईंमा सेनालाई घोडा र कुकुरको साथ र सहयोग हुँदै आएको छ। परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको छ।







