पाेखरा,चैत्र १४ , गीता पोख्रेल, स्मार्ट अक्षर संम्वाददाताः
पाेखरा महानगरपालिकाले आयाेजना गरेकाे न्यायिक समितिकाे राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।
पोखरा महानगर वडा नम्बर ९ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाउनु भयाे ।
कांग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहनुभएका उहाँले भन्नुभयाे, ‘न्यायिक समितिमा समेत कांग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’
न्यायिक सम्मेलन एमालेको चुनावी ‘फण्डा’मात्र भएको आरोप लगाउँदै उहाँले अगाडि भन्नुभयाे, ‘यो कार्यक्रम पहिल्यै हुनुपर्थ्यो । अहिले आएर गरिनु चुनावी फण्डामात्र हो ।’
पोखरा महानगरमा कांग्रेसका ११ वडाध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन् ।
सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ ।







