जुम्ला,चैत्र ८, स्मार्ट अक्षर संम्वाददाताःदुइ तीन वर्ष यता जुम्लामा अटो सञ्चालनको चाप बढ्दै गएको छ । युवाहरुको कमाइ खाने उत्तम विकल्पका रुपमा पनि अटोनै परेको छ । अटो सञ्चालन गरेरै जुम्लाका १ सय २० जना भन्दा बढी यूवा स्वरोजगार भएका छन् । ऋण जोहो गरेर अटो खरिद गरी सञ्चालन गरेपनि जुम्लामै सवारी अनुमती पत्र लाइसेन्स नखुल्दा अटो चालक यूवाहरुले समस्या भोगिरहेका थिए ।
उनिहरु कमाइ भन्दा बढी जरिवाना तिर्न बाध्य थिए । तर विगत चार वर्षदेखि बन्द रहेको सवारी अनुमती पत्र सवारी चालक अनुमती पत्र फाुगन अन्तिम साताबाट जुम्लामै खुलेपछि अटो चालकहरु उत्साहित भएका छन् ।
त्यस्तै मोटरसाइलको पनि चाप बढ्दै गएको जुम्लामा सवारी चालक अनुमती पत्र वितरण नहुँदा मोटरसाइकल चालकहरुले समस्या भोगिरहेका थिए । हाल लाईसेन्स वितरण खुल्दा निकै खुसी छन् ।
लामो समयदेखि जरिवाना तिरेर भएपनि किस्ता तिर्नका लागि सवारी चालक अनुमती पत्र विनै अटो चलाउन बाध्य जुम्लाका अटोचालक यूवाहरुले चार वर्षपछि सवारी चालक अनुमती पत्र खुलेपछि खुसी भएका हुन् ।
सवारी चालक अनुमती पत्र खुलेपछि सबैभन्दा राहत अटो चालकलाई भएको सूचना अधिकारी महतले जानकारी दिनुभयो । अटो चलाएरै रोजीरोटी जुटाइरहेका अटो चालकहरु लाईसेन्स नहुँदा समस्यामा थिए ।
बढ्दो माग र गुनासोपछि विभागले गुनासो सम्बोधन गर्दै सवारी चालक अनुमती पत्र खुलेको र पहिलो चरणको सबै वितरणपछि मात्रै दोस्रो चरणको अनलाईन फाराम खुल्ने छ ।
जीप,स्कुटर,मोटरसाईल तथा अटोका लिखित तथा प्रयोगात्मक परिक्षा नेपाल प्रहरी,ट्राफिक प्रहरीको कडा निगरानी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुको सहभागितामा हुने गरेको छ ।
यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा ट्राफिक कार्यालयका सम्पुर्ण कर्मचारीहरु धेरै वर्षपछि खुलेको सवारी चालक अनुमती पत्र वितरण प्रक्रियालाई छिटो छरितो र व्यवस्थित बनाउन लागि परेको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निर विक्रम शाहीले बताउनुभयो ।
सवारी चालक अनुमती पत्रका लागि परिक्षा दिने,प्रयोगात्मक परिक्षण गर्ने काम आगामी असार महिना सम्म जारी रहने यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।
यातायात व्यवस्था विभागले गएको फागुन २० गतेदेखि जुम्लामा सवारी चालक अनुमती पत्रको अनलाईन फाराम खोलेको थियो । चैत १ गतेबाट अर्कोसूचना नहुन्जेल अनलाईन फाराम बन्द गरिएको छ ।







