काठमाडौं,चैत्र ६, स्मार्ट अक्षर संम्वाददाताः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएका छन्।
इलाममा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनका सम्बन्धमा दलहरुसँग आयोगले परामर्श नगरी निष्पक्षतामाथि प्रश्न चिन्ह उठ्ने काम गरेको टिप्पणी गरेका हुन्।
‘सधै निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन छुट्याउने गर्थ्यो। यसपटक वैशाख ११ र १२ गते दुई दिनलाई मनोनयन दर्ताको समय छुट्यायो। दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ, भनेर अर्को दिन थप गरिएको हो ? विश्वभरी मनोनयन एक दिन हुन्छ। दुई दिन भयो नेपालमा। पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’ उनले प्रश्न गरे।
निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्न नहुने उनको भनाइ छ। ‘निर्वाचन आयोग दलको अनुकूल हुनेगरी काम गर्यो। रुख पनि हरियो पार्ने, सूर्य पनि हरियो पार्ने। कस्तो अचम्मको निर्वाचन आयोग देखापर्यो,’ ओलीले आलोचना गरे, ‘कांग्रेसको रुख हरियो पार्नका लागि हरियो रङ चाहियो। कांग्रेसको रुख निलो पार्नका लागि निलो रङ चाहियो निर्वाचन आयोगलाई ? दलहरुसँग आयोगले किन परामर्श गरेन ? एक्लै किन मनपरी ढंगले कांग्रेसको अनुकूल हुनेगरी काम गर्यो। सूर्य कही हरीयो हुन्छ ? रुखलाई पनि हरियो, सूर्यलाई पनि हरियो।’







