
काठमाडौं,चैत्र ६, स्मार्ट अक्षर संम्वाददाताः एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।
अब यो देशभरि उर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ’ नेम्वाङले प्रश्न गरे ।
उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे । ‘इलाममा मात्र होइन, मेची महाकाली, मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई हेर्दै नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झल्झली अनुहार याद आउँछ ।
एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो । यस क्षेत्रका संघीय सांसद खनाल हुन् । पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन् । हाल एकीकृत समाजवादीमा छन् । सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै छिन् । ।







