काठमाडौँ – गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर हुने मौसमविद्ले बताएका छन् । मनसुन न्यून चापीय रेखा पूर्वी क्षेत्रमा नेपालतर्फ सर्दा धेरै ठाउँमा अति ठूलो पानी परेको थियो । आजदेखि न्यून चापीय रेखा सरदर स्थानमा पुगेको मौसम पूर्वानुमान् महाशाखाका मौसमबिद् गोविन्द झाले जानकारी दिनुभयो ।
मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बाग्मती, गण्डकी र लुम्बनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
२४ घण्टामा ५० देखि एक सय मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई ठूलो वर्षा मानिन्छ । त्यस्तै, एक सय देखि दुई सय मिलिमिटरसम्म वर्षा भएमा धेरै ठूलो वर्षा र दुई सय मिलिमिटरभन्दा बढी पानी परेमा अति ठूलो वर्षा भएको मानिन्छ ।
आज देशका सबैजसो ठाउँमा बदली भएर कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँ र कर्णाली र सदुरपश्चिमको एक–दुई ठाउँमा हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको छ । अहिले पर्सा जिल्लाका केही ठाउँमा ठूलो बर्षा भइरहेको छ । यस्तै गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययमखालको पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।