काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दिल्लीले लखनउलाई १९ रन हराएको हो । दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।
लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । दिल्लीका ईशान्त शर्माले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । उसका अभिषेक पोरेलले सर्वाधिक ५८ रन बनाए । लखनउका नवीन उल हकले २ विकेट लिए ।
यो जितसँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्ली १४ खेलमा १४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । लखनउ १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स् खेल्दैछन् ।