दि हेग- संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत (आईसीजे)ले विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार इजराइलले गाजामा नरसंहार कार्य रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला सुनाएको छ ।
आफ्नो सैन्य कारबाहीमाथि दबाब दिइरहेको इजराइललाई अदालतले कुनै पनि सम्भावित नरसंहार कार्यबाट बच्न आग्रह गरेको छ । यद्यपि, अदालतले युद्धविरामाको आदेश दिन सकेन ।
“प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न तत्काल आवश्यक आधारभूत सेवा र मानवीय सहायताको प्रावधानलाई सक्षम बनाउनका लागि इजराइलले तत्काल र प्रभावकारी कदम चाल्नुपर्छ,” अदालतले भनेको छ ।
यो स्तरमा आईसीजेले इजराइलले वास्तवमा गाजामा नरसंहार गरिरहेको छ वा छैन भन्नेबारेमा विचार गरिरहेको थिएन । यो प्रक्रिया धेरै वर्ष लाग्नेछ । यद्यपि अदालतले इजराइललाई चेतावनी दिँदै सन् १९४८ मा नाजी नरसंहारको भयावह विश्वभर परेको बेला स्थापित संयुक्त राष्ट्रसंघ नरसंहार महासन्धिअन्तर्गत पर्नसक्ने कार्यहरू रोक्नका लागि आफ्नो शक्तिमा सबै उपाय गर्न चेतावनी दिएको छ ।
फैसलामा इजराइलर्ले नरसंहार रोक्नका लागि कुनै पनि उक्साहटलाई ‘रोक्न र दण्डित’ गर्नुपर्ने उल्लेख छ । उक्त मुद्दा दक्षिण अफ्रिकाले ल्याएको थियो । दक्षिण अफ्रिकाले इजराइलमाथि संयुक्त राष्ट्रसंघीय नरसंहार महासन्धिको उल्लंघन गरेको आरोप लगाएको छ ।






