चितवन : केही दिनदेखिको वर्षाले जिल्लाका विभिन्न क्षेत्रको धानबालीमा क्षति पुगेको छ। पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन्।
खेतमा भित्र्याउन काटेर सुकाएको धान निरन्तरको वर्षालेडुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताए। ‘मैले दुई बिघामा धान लगाएको हो। त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ’, खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उनले भने।
शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोपेका थिए। केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उनले बताए। ‘मेरो खेत नै यति मात्रै। उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो’, उनले भने, ‘मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु।’ काट्न १० जना खेताला लागेको उनले बताए।
धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए। ‘‘अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ’, उनले भने। उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न शुरु हुन्छ।
केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढालेको उनले बताए। यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ। पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्छन्।
समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन्। चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती हुन्छ।







