काठमाडौँ – क्यानडा सरकारले ब्रिटिस कोलम्बिया राज्यमा १ जना शिख नेताको हत्यामा भारतीय सरकारको हात रहेको बताएको छ। गत जुन महिनाको १८ तारिख क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को तल्लो सदन हाउस अफ कमन्समा एक बयान दिँदै निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरु संलग्न रहेको विषयमा छानबिन भइरहेको बताए। ट्रुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले क्यानाडाली भूमिमा क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको ठोस आरोपको छानबिन गरिरहेका छन्। क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको भूमिका हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो, जुन स्वीकार गर्न सकिँदैन।’
भारत सरकारले निज्जरलाई आतंकवादी भन्दै आएको थियो र उनलाई आतंकवादी पृथकतावादी संगठनको नेताको रूपमा वर्णन गरेको छ। तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्।
निज्जरको हत्यालाई लिएर ट्रुडोले भारत सरकारमाथि लगाएको गम्भीर आरोपले राजनीतिक क्षेत्रमा धेरै हलचल मच्चाएको छ। भारत र क्यानडाबीचको पहिलेदेखिकै तनावपूर्ण सम्बन्धलाई यो प्रकरणले थप बिग्रने अवसर सिर्जना गरेको छ।
ट्रुडोले आफ्ना निकटतम् सहयोगीहरुलाई पनि यस घटनाक्रमबारे जानकारी गराएको बताएका छन्। जसमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाक, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेन रहेका छन्।
४६ वर्षीय सिंह उत्तर भारतको पञ्जाब जिल्लामा सिखहरूकालागि नयाँ स्वतन्त्र देश निर्माण गर्ने खालिस्तान पृथकतावादी आन्दोलनका बलियो समर्थक थिए।
क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यी आरोपमा कारबाही गर्दै भारतका वरिष्ठ कूटनीतिक अधिकारी पवनकुमार रायलाई देश निकाला गरेकी छन्। राय क्यानडामा भारतीय जासुसी एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख थिए। जोलीले आरोपहरूको ‘समस्याग्रस्त र पूर्ण रूपमा अस्वीकार्य’ गम्भीरतालाई ध्यानमा राखेर कारबाही गरिएको बताएकी छन्।






