काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चैतेधान उत्पादन वृद्धि अभियान थालेको छ। प्रायः नेपालीको खानाको ६७ प्रतिशत हिस्सा ओगट्ने धान अहिले चाहिनेभन्दा १२ लाख ८० हजार टन कम उत्पादन भइरहेको छ।
अहिले चैतेधान लगाइएको १ लाख १८ हजार हेक्टरलाई दोब्बर गरेर २ लाख ४० पुर्याउने हो भने थप ६–७ लाख टन धान उत्पादन गर्न सकिने कृषि मन्त्री डा.बेदुराम भुसाल बताउँछन्। मन्त्रालयले आइतबार गरेको प्रेस सम्मेलनमा बोल्दै मन्त्री भुसालले अर्को वर्ष पनि त्यत्ति नै थप धान उत्पादन गर्ने हो भने धानमा आत्मनिर्भर हुन सक्ने दाबी गरे। यससँगै अब कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय मिलेर चैतेधान उत्पादन वृद्धि अभियान सञ्चालन गर्ने योजना बनाइरहेको समेत उनले जनाए।
पछिल्लो समय भारतले चामल निर्यातमा कडाइ गरेको छ। तर भारत राजदूतसँगको छलफलमा अन्य मुलुकमा धान निर्यातमा कडाइ गरे पनि नेपालका लागि खुकुलो व्यवस्था गर्ने आश्वासन दिएको मन्त्री भुसालले जनाए। मन्त्री भुसाल भन्छन्, ‘भारतीय राजदूतले नेपालमा चामल निर्यातमा कडाइ नगरिने भेटमा आश्वासन दिएका छन्। तर हामीले मुलुकभित्रै उत्पादन बढाउन जोड दिनुपर्छ। यसैले पनि हामीले चैतेधान उत्पादन बढाउन जोड दिएका हौं।’
मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरी उद्योग मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरी मोटा धान प्रतिक्विन्टल ३ हजार १ सय ९१ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ कायम गरिसकेको छ। कृषकलाई उत्पादनको आधारमा अनुदान दिन प्रक्रिया सुरु भएको समेत बताइएको छ।
यस्तै, विगतमा विभिन्न कारणले स्थगन भएको बाली तथा पशु बिमा कार्यलाई सरोकारवालाको छलफलबाट सुचारु गरिएको मन्त्रालयको भनाइ छ।







