काठमाडौैँ- नेपालमा यसवर्ष एक त धान रोपाइँ हुने क्षेत्रफल घटेको छ भने त्यसमाथि कम क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ ।
खेतीयोग्य जमिनलाई खण्डीकरण गरी प्लटिङ गर्न थालिएपछि गत वर्षको तुलनामा १७ हजार हेक्टर धान रोपाइँ हुने जग्गा मासिएको छ । गत वर्ष १५ लाख ४ हजार ९ सय ९० हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा यसवर्ष १४ लाख ८८ हजार ४९ हेक्टर मात्र बाँकी रहेको छ ।
धान खेती हुने जग्गा मासिएको क्षेत्रमा धानको केन्द्रभूमि मधेस अग्रपंक्तिमा रहेको छ । सो क्षेत्रमा गत वर्षको तुलनामा ४ हजार हेक्टर धान खेती हुने जग्गा मासिएको छ ।
बाग्मती प्रदेशमा पनि गत वर्षको तुलनामा ७ हजार हेक्टर जग्गा घटेको छ । सो प्रदेशमा १ लाख २० हजारबाट १ लाख १३ हजार हेक्टरमा घटेको हो ।
सहरीकरणको चपेटामा रहेको गण्डकीमा ३ हजार हेक्टर र लुम्बिनीमा ९ हजार हेक्टर खेतीयोग्य जग्गा मासिएको छ ।
तुलनात्मक रूपमा धान उत्पादन कम हुने कर्णाली प्रदेशमा भने ३८ हजार हेक्टरबाट ४५ हजार हेक्टर पुगेको छ । यस क्षेत्रमा ७ हजार हेक्टर बढेको छ ।
खासगरी धान उत्पादन बढी हुने तराई क्षेत्रमा जग्गा प्लटिङ गरी सहर बसाउन खोज्दा धान उत्पादन घट्ने प्रक्षेपण भएको र धान उत्पादन पनि कमी हुने कृषि तथा पशुपन्छी मन्त्रालयको भनाइ रहेको छ ।
धान उत्पादनमा कमी हुने भएकाले र भारतले वर्षौंजसो विभिन्न वस्तु निर्यातमा प्रतिबन्ध लगाएजस्तै धानमा पनि लगाउने सम्भावना रहेकाले धानको मूल्य आगामी वर्ष बढ्ने अनुमान गरिएको छ ।
एक त धान उत्पादन हुने क्षेत्र घटेको छ, त्यसमाथि यसवर्ष कम वर्षा हुँदा धान रोपाइँ हुन सकेको छैन । त्यसमाथि सरकारले रासायनिक मल वितरण नगर्दा रोपिसकेको धान पनि कम उत्पादन हुने अनुमान गरिएको छ ।
मन्त्रालयका अनुसार गत वर्षको साउनसम्ममा १४ लाख २७ हजार ९ सय २ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकामा यसवर्ष १३ लाख ७५ हजार १ सय ३४ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार गत वर्ष अर्थात् २०७९ असारसम्ममा ९५ प्रतिशत धान रोपाइँ भएकामा यसवर्ष साउन मसान्तसम्ममा ९२ प्रतिशत रोपाइँ मात्र सकिएको छ । गत वर्षको १५ लाख ४ हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने जग्गा रहेकामा यसवर्ष घटेर १४ लाख ८८ हजार ४९ हेक्टरमा मात्र रोपाइँ हुने विवरण आए पनि कम क्षेत्रमा मात्र रोपाइँ सकिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्र बोहराका अनुसार धानको उर्वर भूमिका रूपमा रहेको मधेस प्रदेशमा सबैभन्दा कम क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । उनका अनुसार मधेस प्रदेशमा कुल ४ लाख १ हजार ६ सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँ हुने क्षेत्र रहेकामा ३ लाख ३१ हजार १ सय ६५ हेक्टरमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । यो भनेको कुल धान खेतीको ८२ प्रतिशत मात्र हो । गत वर्ष सो क्षेत्रमा साउनसम्ममा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । गत वर्ष मधेस प्रदेशमा ४ लाख ५ हजार हेक्टर धान रोपाइँ हुने क्षेत्र थियो । यसवर्ष ४ हजार हेक्टर धान रोपाइँ हुने क्षेत्र घटेको छ ।
हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेस प्रदेशमा ८२ प्रतिशत, बाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ ।
गत वर्ष यही समयमा मुलुकभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यसवर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाइँ भएको हो । धेरै धान उत्पादन हुने मधेस प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ ।
कोशी प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमध्ये ३ लाख २९ हजार ३ सय ५५ हेक्टरमा मात्र धान रोपाइँ सकिएको छ । यस प्रदेशमा गत वर्ष र अहिले बराबर अर्थात् ९७ प्रतिशत धान रोपाइँ सकिएको छ ।
बाग्मती प्रदेशमा पनि गत वर्ष साउनसम्ममा ९७ प्रतिशत धान रोपाइँ सकिएकामा यसवर्ष ९३ प्रतिशत मात्र सकिएको छ । यस प्रदेशमा १ लाख ५ हजार ९ सय ६४ हेक्टर धान रोपाइँ हुने क्षेत्र रहेको छ ।
यसैगरी, गण्डकीमा ९२ हजार १ सय ६७ हेक्टरमा धान रोपाइँ भएको छ । यस क्षेत्रमा गत वर्ष ९७ प्रतिशत धान रोपाइँ सम्पन्न भएकामा यसवर्ष ९४ प्रतिशत मात्र सकिएको छ । लुम्बिनीमा कुल ३ लाख ११ हजार ४२ हेक्टरमध्ये २ लाख ९५ हजार ४ सय ७ हेक्टर अर्थात् ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । यस क्षेत्रमा गत वर्ष ९० प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सकिएको थियो ।
कर्णालीमा भने ४४ हजार ७ सय १४ हेक्टरमा धान रोपाइँ सकिएको छ ।







