काठमाडौँ – अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९६ पुगेको छ। आगो बस्तीसम्म फैलिँदा हालसम्म ९६ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाईते भएका छन्।
विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन्। डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ बिस्थापित भएका छन्।
अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्शानी भएको बताए। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतिपूर्ण बनेको छ।






