काठमाडौँ- प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानको संसद् भंग भएको छ । राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यरातमा संसद् भंग गरेका बीबीसीले जनाएको छ ।
राजनीतिबाट प्रतिबन्धित पूर्व प्रधानमन्त्री इमरान खान बिना नै राष्ट्रिय चुनावको तयारीका लागि पाकिस्तानको संसद भंग भएको छ ।
खानका उत्तराधिकारी, प्रधानमन्त्री शहबाज सरिफले बुधबार राष्ट्रपति आरिफ अल्वीलाई पत्र लेख्दै संसदको तल्लो सदन राष्ट्रिय सभा विघटन गर्न आह्वान गरेका थिए।
संसद्को कार्यकाल सकिन तीन दिन बाँकी रहँदा संसद् भंग गरिएको हो । मन्त्रिपरिषद पनि भंग भएको छ । तीन दिनभित्रै नयाँ कार्यवाहक प्रधानमन्त्री चयन गरिने समाचारमा उल्लेख छ ।
खानले संसदमा अविश्वासको मत गुमाएपछि अप्रिल २०२२ मा सत्तामा आएका शरीफले मंगलबार भने कि उनले राष्ट्रपति अल्वीलाई निर्धारित समयभन्दा तीन दिन अगाडि विधानसभा भंग गर्न आग्रह गरेका थिए।
पाकिस्तानमा अब ९० दिनभित्र आम निर्वाचन हुनेछ ।






