काठमाडौँ – नेकपा एमाले काठमाडौँ महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ।
बुधवार काठमाडौँको माइतीघर मण्डलामा भेला भई उनीहरूले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका हुन्। उनीहरूले लम्पी स्किन देशव्यापी रूपमा फैलिसक्दा समेत सरकारले आवश्यक चासो नदिएको गुनासो गरे।
प्रदर्शन कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताए। उनले देशभरका किसानलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको भन्दै व्यंग्य गरे।
उनले भने, ‘सातै प्रदेशमा प्रदेश सरकार छन्, ७५३ वटै स्थानमा सरकार छन्, लम्पी स्किनबाट अहिले १ अर्बभन्दा बढीको क्षति भइसकेको छ। सबैतिर फैलिसक्यो। तैपनि सरकार कुम्भकर्ण निद्रामा छ। सबैलाई दुख्यो तर सरकारलाई दुखेन। त्यसैले सडकबाट सरकारको ध्यानाकर्षण गराएका हौँ।’
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेका वेला लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए। उनले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताए।
उनले भने, ‘देशको आर्थिक अवस्था थला परिरहेको छ। यो रोगले धेरै पशु मरिसकेको अवस्थामा सरकारको ध्यानाकर्षण गराएका हौँ। रोग नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् र क्षति पुगेका किसानलाई उचित क्षतिपूर्ति देओस्।’
कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए। उनले पशुलाई लम्पी स्किनको खोप दिन सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाए।
उनले भने, ‘सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेन। अहिले देशभर १० लाखको हाराहारीमा संक्रमित छन्। ३ लाख पशुमा खोप लगाइएको भनिएको छ। खोपमा पनि ढिलो भइरहेको छ। पशु बीमा सम्बन्धी कार्यक्रम पनि अड्किएको छ। यो महामारी तत्काल नियन्त्रण गर्न नसके २५ लाख पशुमा संक्रमण हुने र १ खर्बको क्षति पुग्ने अनुमान छ। त्यसैले राज्यले प्रभावकारी काम गरोस्।’
प्रदर्शनमा सहभागीले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराऊ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराऊ लगायतका प्लाकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।







