काठमाडौँ- मोरङ र सुनसरीमा अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टायता मोरङको लेटाङ, हरैचा र सुनसरीको इटहरी आसपास ‘अति भारी’ वर्षा भएको छ।
थप वर्षाको अनुमान गर्दै महाशााखाले बूढीखोला, खेसलिया, सुनसरी खोला र लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको पनि महाशाखाले बताएको छ।
त्यसैले आज बिहान ११ बजे सम्म ‘अति उच्च’ सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
त्यसअघि आज बिहान ५ बजे महाशाखाले सार्वजनिक गरेको सूचनामा मोरङको कानेपोखरी र त्यस आसपासमा पनि ठूलो वर्षा भएको उल्लेख छ ।
गएराति सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने साना खोलाहरुमा जलसतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकीका केही स्थानहरुमा हल्कादेखि मध्यम र थोरै स्थानहरुमा भारी वर्षा भइरहेको छ ।
आज सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।





