काठमाडौँ – पानी पर्न थालेसँगै किसानलाई धान रोपाइँको चटारो शुरु भएको छ ।
काठमाडौँ उपत्यकासहित पहाडी र तराईका जिल्लामा रोपाइँ भैरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा लगातारजसो पानी परेको छ । सुदूरपश्चिमलगायत केही जिल्लामा भने पानीको अभाव हुँदा रोपाइँमा असर परेको छ ।
रोपाइँका लागि पर्याप्त पानी नहुँदा बोरिङबाट तानेर रोपाइँ गर्न थालेको कैलाली, कञ्चनपुरलगायत जिल्लाका किसानले गुनासो गरेका छन् ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा अहिलेसम्म झण्डै १२ प्रतिशतमा रोपाइँ भएको छ । यस्तै, रोपाइँ शुुरु भइसक्दासमेत रासायनिक मल नपाएको किसानको गुनासो छ ।
सरकारले यसपटक धान बालीमा मलको अभाव नहुने दाबी गर्दै आए पनि किसानले मकै र धानका लागि पर्याप्त मल पाएका छैनन् । आम्दानी गर्ने र जीविका चलाउने मुख्य बालीका रुपमा बर्खे धान बालीलाई लिइन्छ । मल र सिँचाइको अभावले मुख्य बालीको उत्पादनमा असर पर्न सक्ने किसानको गुनासो छ ।
उच्च पहाडका जुम्लालगायत आसपासका क्षेत्रमा मार्सी धानको रोपाइँ सकिएको छ ।







