काठमाडौँ – सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबारदेखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
युद्धविराम सम्झौताको पछिल्लो शृङ्खलाले राजधानी खार्तुममा फसेका सर्वसाधारणलाई बाहिर जान र खाद्यान्न तथा अन्य आवश्यक सामग्री भण्डारण गर्न मौका दिएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको युद्धविरामको अवधि सकिएको १० मिनेटपछि नै राजधानीमा पुनः गोलाबारी र झडप भएको प्रत्यक्षदर्शीले एएफपीलाई बताएका छन्।
खार्तुम र यसको उत्तरमा रहेको ओमदुरमान शहरमा भीषण गोलाबारीको आवाज सुनिएको र राजधानीको दक्षिणमा रहेको प्रमुख मार्ग अल–हवा स्ट्रिटमा पनि भिडन्त सुरु भएको अधिकारीहरूले बताएका छन्।
दक्षिण खार्तुमका बासिन्दा नासरुद्दीन अहमदले भन्नुभयो, “एक दिनको मौनता ‘सपना जस्तै’ थियो जुन २४ घण्टा बित्दा नबित्दै अन्त्य भएको छ।
राजधानीको उत्तरी उपनगरमा बस्ने अस्मा अल–रिहले ‘रकेट र गोलाहरूले घरका भित्ताहरू हल्लिने आतङ्कको पुनरागमन’ मा दुःख व्यक्त गरे।






