काठमाडौँ – भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको संख्या शनिबार ५४ पुगेको छ । मणिपुरमा अनुसूचित जनजातिको स्थितिमा अदालतको आदेशलाई लिएर आदिवासीहरूद्वारा जारी विरोधको क्रममा झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ।
अनुसूचित जनजाति (एसटी) को दर्जाको माग गर्दै विरोधमा आयोजना गरेको आदिवासी एकता मार्चमा चुराचन्दपुर जिल्लाको तोरबुङ क्षेत्रमा पहिलो पटक हिंसा भड्किएको थियो।
मणिपुर उच्च अदालतले गत महिना राज्य सरकारलाई मेटेई समुदायको एसटी दर्जाको मागमा केन्द्रलाई चार हप्ताभित्र सिफारिस पठाउन आदेश दिएपछि कुकीहरू सहित – केही आदिवासीहरूले मार्चको आयोजना गरेका थिए।
टोरबुङमा मार्चको क्रममा, एक सशस्त्र भीडले कथित रूपमा मेइती समुदायका मानिसहरूलाई आक्रमण गरेको थियो, जसले उपत्यकाका जिल्लाहरूमा जवाफी आक्रमणहरू निम्त्यायो, जसले राज्यभर हिंसा बढाएको थियो
जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ ।
अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागु गरे र अशान्ति नियन्त्रण गर्ने प्रयासमा ‘चरम अवस्थामा’ गोली हान्ने आदेश जारी गरेका छन् ।
इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ । छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएको छ ।
राज्यका उच्च प्रहरी अधिकारीले दंगाकारीहरूले प्रहरी चौकीहरूबाट हातहतियार र गोलाबारुद चोरेको बताएकोे केही घण्टापछि शुक्रबार राति फेरि हिंसात्मक झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
राज्यको राजधानी इम्फाल र थप दक्षिणमा रहेको चुराचन्दपुर जिल्लामा रहेका अस्पतालका मुर्दाघरमा झडपमा मृत्यु भएका जम्मा ५४ जनाको शव राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
“सोह्र शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव इम्फाल पूर्वी जिल्लाको ‘जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’मा राखिएको छ,” प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले स्रोतमा नाम उल्लेख नगरिकन एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ ।
“इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रिय अस्पताल ‘रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ले २३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।”
मणिपुरका प्रहरी महानिर्देशक पी. ढुंगेलले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सुरक्षा बलले स्थितिलाई नियन्त्रणमा लिइरहेको बताएका छन् ।
उनले भने, “सेनाको गस्ती टोलीले यो समस्यालाई नियन्त्रण गर्न निकै लामो यात्रा तय गरेको छ । केही प्रहरी चौकीहरू हतियार र गोलाबारुद चोर्ने ‘उपद्रवीहरू’ द्वारा अतिक्रमित भएको र उनीहरूलाई फिर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।”
सुरक्षा बल र मणिपुर सरकारले यस हप्ताको हिंसामा मृत्यु हुनेको आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।







