काठमाडौँ – खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व सिंहले गरिरहेका थिए ।
उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी छ । त्यहाँ उनका अन्य सदस्यहरुलाई पहिले नै पक्राउ गरि राखिएको छ । राष्ट्रिय सुरक्षा ऐन अनुसार उनलाई पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।
सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन । विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए ।
३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुन: जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ ।






