सर्लाही – जिल्लाका उत्तरी चुरेपर्वतीय भावर क्षेत्रमा व्यावसायिक रुपमा गरिएका आँप खेतीमा ढुसी रोग देखिएपछि किसान चिन्तित बनेका छन्।
आँपका रूखमा पात नदेखिने गरी बोटै ढपक्क ढाँकेर मजुरा फुल्दा मख्ख परेका यस क्षेत्रका किसान आँपको मजुराफुलमा मधुवा किराका कारण ढुसी रोग देखा परेपछि किसान चिन्तित बनेका हुन्।
मधुवा किराले खाएपछि गुलियो लेसिलो पदार्थ आँपको मजुराफुलमा ओकलेपछि आँपका मजुराफुलमा लाग्ने ढुसीले मजुरा झर्ने र दाना नलाग्ने समस्या हुन्छ।
जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुरलगायत क्षेत्रमा मधुवा किराको प्रकोप देखिएको छ। हरिवन नगरपालिका–३ डाबरीका आँप किसानहरु ढुसीको प्रकोप देखिएपछि निराश बनेका छन्।
ईश्वरपुर नगरपालिका–७ काे आँप बगैचामा मधुवाको प्रकोप देखापरेको छ। फागुन महिनाको अन्तिम साताबाट आँपका मजुराफुलमा मधुवा किराको प्रकोप देखिएको थियो भने, चैत लागेपछि मजुराफुलमा ढुसी देखिन थालेको छ।
लालबन्दीस्थित उष्णप्रदेशीय बागवानी केन्द्रको अधिनमा रहेको एक सय २० विगाह क्षेत्रफलमा रहेको ६ हजार वढी आँपका रूखहरु भने सुरक्षित र स्वस्थ रहेको केन्द्रले जानकारी गराएकाे छ । रोग, किरा र ढुसी लाग्न नदिन सुरुमै मधुवा किराको प्रकोप नियन्त्रणको उपाय अपनाइएको छ।
फुल्नुअघि आँपको रुखको जरा बरिपरि खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा किराको प्रकोप रोक्न सक्ने बताईएको छ। यहाँका प्राय अधिकांश किसानहरुले प्राबिधिक ज्ञान बिनानै विषादीको प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाहअनुसार प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने फूल डढ्ने जस्ता समस्यासमेत देखिने गरेको छ ।
मधुवा किराको प्रकोप देखा परेपछि भने विषादीबाहेक अर्को विकल्प नरहेको कृषि विज्ञहरुले बताएका छन्।
सर्लाही जिल्लाको बलरा, हथिऔल, ईश्वरपुर तथा चुरेपर्वतीय भावर क्षेत्रको आठ हजार हेक्टरभन्दा वढी जग्गामा व्यावसायिक रूपमा आँपखेती हुने गरेको छ।







