काठमाडौँ – इरानी राष्ट्रपतिलाई साउदी अरबमा भ्रमणको निमन्त्रणा दिएकाे इरानले जनाएको छ। दुई प्रतिद्वन्द्वी देशले आफ्ना कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमति जनाएको करिब एक सातापछि भ्रमणको निम्तो दिइएको हो ।
भ्रमणका लागि राजा सलमानले पत्रमार्फत आह्वान गरेको भनिएको छ। यद्यपि, साउदी अरबले यसबारे अझै पुष्टि गरेको छैन।
मध्यपूर्वको पछिल्लो इतिहासमा यी दुई राष्ट्रहरू बीचको तिक्ततापूर्ण सम्बन्ध हाबी भएको थियो।
एक वरिष्ठ इरानी अधिकारी मोहम्मद जमशिदीले साउदी अरबको राजधानी रियाद भ्रमणको निमन्त्रणाबारे ट्विटमार्फत रइसीले निमन्त्रणा स्वीकार गरेको र ूसहकार्य विस्तार गर्न इरान तत्पर रहेको कुरामा जोड दिएको” बताएका छन्।
फरक प्रसङ्गमा इरानका विदेश मन्त्री हुसेन अमिर(अब्दुल्लाहियानले पत्रकारहरूसँग दुई देशहरू विदेश मन्त्री स्तरको बैठकका लागि तयार भएको र बैठकका लागि तीन सम्भावित स्थानहरू प्रस्ताव गरिएको बताएका थिए।
उनले बैठक मिति र प्रस्तावित स्थानहरूबारे भने कुनै जानकारी दिएनन्।
चीनको मध्यस्थतामा केही दिनको वार्तापछि द्विपक्षीय सम्बन्धमा अप्रत्याशित रूपमा देखिएको सुधारले महत्त्वपूर्ण गति लिएको देखिन्छ।
दुवै देशले दुई महिनाभित्र दूतावास फेरि खोल्ने र व्यापार तथा सुरक्षा सम्बन्धलाई पुनः स्थापना गर्ने घोषणा गरेका छन्।






