काठमाडौँ – भारतीय राष्ट्रिय कांग्रेसकी पूर्व अध्यक्ष तथा संसदीय दलकी प्रमुख सोनिया गान्धी ब्रोन्काइटिसका कारण दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।।
उनको अवस्था स्थिर रहेको छ। अस्पतालले जारी गरेको बुलेटिनमा यो जानकारी दिइएको हो। सोनिया गान्धीलाई ज्वरो आएपछि ‘चेस्ट मेडिसिन’ विभागका प्रमुख डा. अरूप बसु र उनको टोलीको निरीक्षणमा बिहीवार भर्ना गरिएको अस्पतालले जनाएको छ।
बुलेटिनमा भनिएको छ, ‘सोनिया गान्धी डाक्टरको निगरानीमा छिन् र उनको जाँच भइरहेको छ। उनको अवस्था स्थिर छ।’
यस वर्ष उनी अस्पतालमा भर्ना भएको यो दोस्रो पटक हो । गत जनवरीमा पनि उनलाई भाइरल श्वासप्रश्वास संक्रमणको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
राहुल गान्धी विदेश भ्रमणमा रहेका वेला सोनिया गान्धीको स्वास्थ्य बिग्रिएको हो। उनी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा प्रवचन दिन गएका छन्।






