काठमाडौँ- उपत्यकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ । कुखुरामा छिटो संक्रमण हुने बर्डफ्लु पछिल्लो समय काठमाडौँको नागार्जुन नगरपालिका–६, रामकोटमा देखिएको हो । उक्त क्षेत्रबाट पहिलोपटक चार हजार पाँच सय ९१ कुखुरा, २२ सय ५५ वटा अन्डा नष्ट गरिएको छ ।
हालसम्म तीन स्थानमा संक्रमण फैलिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १ र ७, ललितपुरको खुमलटारमा संक्रमण फेला परेको छ ।
तीनवटै स्थानमा गरी हालसम्म ६ हजार दुई सय १० कुखुरा, पाँच सय ५० किलो दाना र १० हजार दुई सय २५ वटा अन्डा नष्ट गरिएको छ । गत सोमबार तारकेश्वर नगरपालिका वडा नम्बर १ साङ्लामा लोकल कुखुरा चार सय ६२, पाँच सय आठ हाँस र दुई सय किलो कुखुराकाे दाना नष्ट गरिएको छ । सोही नगरपालिका वडा नम्बर ७ मा पनि संक्रमण फैलिएको छ । जहाँबाट नौ सय ४० कमर्सियल लियर जातका कुखुरा, पाँच हजार चार सय ६० वटा अन्डा र एक सय किलो दाना नष्ट गरिएको छ ।
अहिले संक्रमण देखिएको वरिपरिको स्थानमा परीक्षणको कामलाई तीव्रता दिइएको छ । संक्रमण देखिएको तीन किलोमिटर क्षेत्रफललाई संक्रमण प्रभावित क्षेत्रका रूपमा लिइन्छ ।







