काठमाडौं- संयुक्त राष्ट्रसंघले शुक्रबार पश्चिम अफ्रिकी राष्ट्र मालीकाे उत्तरी क्षेत्रमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चारजना घाइते भएका जनाएको छ ।
“अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु सहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएका छन्,” मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।
प्रहरीले आक्रमणकारीहरूबाट केही सामग्री बरामद गरिएको पनि जनाएको छ । मिसनका प्रमुख एल–घासिम वानेले घटनाको निन्दा गर्दै यस जघन्य कार्यबाट संयुक्त राष्ट्रसंघ स्तब्ध भएको टिप्पणी गरेका छन् ।
उनले प्रतिकूल वातावरणको बाबजुद पनि राष्ट्रसंघको शान्ति मिसनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिकस्तरमा गहिरो बहुपक्षीय संकटमा फसेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तरसाम्प्रदायिक हिंसाले पश्चिम अफ्रिकी राष्ट्रमा हजारौँको ज्यान लिएको छ । हजारौँ विस्थापित भएका छन् ।






